कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट
कपिलवस्तु, जेठ २९ गते । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको नेतृत्वमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । अनुगमन टोलीले कपिलवस्तु नगरपालिकाभित्रका एक दर्जनभन्दा बढी होटल, किराना तथा खुद्रा पसलहरूको निरीक्षण गरेको हो ।
बजार अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी पदम लामिछाने, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सरोज खनाल, जिल्ला प्रशासन कार्यालयका ना.सु. बाबुराम शर्मा, कपिलवस्तु नगरपालिकाको प्रशासन शाखा प्रमुख विनोद कुँवर लगायतको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य तथा उपभोग्य वस्तुहरू बरामद गरिनुका साथै ती सामग्रीहरूलाई तत्काल नष्ट गरिएको हो । साथै, बिना दर्ता सञ्चालनमा रहेका पसलहरूलाई एक साताभित्र अनिवार्यरूपमा दर्ता गर्न निर्देशन दिइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पदम लामिछानेले भने, “सार्वजनिक स्वास्थ्य र उपभोक्ताको हक सुरक्षाका लागि नियमित अनुगमन अत्यावश्यक छ । नियम मिच्नेहरूमाथि कारबाही कडाइका साथ अघि बढाइनेछ ।”
कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेलले स्थानीय तहको जिम्मेवारी प्रति प्रतिबद्धता जनाउँदै भने, “बजारमा विक्रि भइरहेका वस्तुहरूको गुणस्तरमा सुधार ल्याउने हाम्रो पहिलो प्राथमिकता हो । यस कार्यमा नगरपालिकाले निरन्तर साथ दिनेछ ।”
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले व्यवसाय दर्ता र उद्योग सञ्चालन सम्बन्धी कानूनी प्रावधानको पालना गर्न सबै व्यवसायीहरूलाई आह्वान गर्दै भने, “दर्ता विना सञ्चालन भइरहेका पसलहरूले अब सम्बन्धित निकायमा दर्ता गर्नुपर्नेछ । अन्यथा कानूनी कारबाही हुने छ ।”
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सरोज खनालले उपभोग्य वस्तुहरूको म्याद, प्याकेजिङ्ग र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताउँदै भने, “स्वस्थ्य सुरक्षामा सम्झौता हुन दिन सकिँदैन । हामीले बजार अनुगमनलाई अझ प्रभावकारी बनाउँदै लैजानेछौं ।”
अनुगमन टोलीले उपभोक्ताहरूलाई सचेत रहन र कुनै अनियमितता देखिएमा सम्बन्धित निकायमा उजुरी गर्न पनि अनुरोध गरेको छ ।
































