हावाहुरीमा आँप टिप्न गएकी बालिकाको रुखले च्यापेर मृत्यु भएपछि राहत
हावाहुरीमा आँप टिप्न गएकी बालिकाको रुखले च्यापेर मृत्यु भएपछि कपिलवस्तु नगरपालिकाले पीडित परिवारलाई राहत र क्षतिपूर्तिस्वरूप दुई लाख रुपैयाँ उपलब्ध गराएको छ।
गत जेठ दुई गते कपिलवस्तु नगरपालिका वडा नम्बर ८, मैनिहवाकी १४ वर्षीया सुखना केवटको आँपको रुखले च्यापेर मृत्यु भएको थियो। मृत्यु भएको २७ दिनपछि मेयर सुदीप पौडेलले पीडित परिवारको घरमै पुगेर मृतक बालिकाकी आमा ज्ञानमति केवटलाई दुई लाखको चेक हस्तान्तरण गरे।
यो रकम विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराइएको मेयर पौडेलले बताए। उनले घटनाप्रति समवेदना व्यक्त गर्दै भने, ‘यो रकमले परिवारलाई राहतस्वरूप मलहम लगाउने काम गर्नेछ।’ उनले नगरवासीको सुखदुखमा नगरपालिका सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पीडित परिवारको घरमै पुगेर रकम हस्तान्तरण गरेकोमा खुशी व्यक्त गरे। उनले भने, ‘हावाहुरीलगायत विपद्का बेला नागरिक पनि सचेत हुनुपर्छ।’
कार्यक्रममा प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्ट, वडाध्यक्ष शिवकुमार पाण्डेयलगायतको सहभागिता थियो। राहतस्वरूप दुई लाखको चेक पाएपछि मृतककी आमा ज्ञानमति केवटले भनिन्, ‘नगरपालिकाले हाम्रो दुखमा साथ दिएको छ।’
































