दोश्रो स्मृति कप टि ट्वान्टी क्रिकेट प्रतियोगीता सुरु
कपिलवस्तु, जेठ ३१ गते । दिवंगत खेलाडीहरुको संझनामा कपिलवस्तुको तौलिहवा स्थित बुद्धपदम माबिको खेल मैदानमा दोश्रो स्मृति कप टि ट्वान्टी क्रिकेट प्रतियोगीता शनिवारबाट सुरु भएको छ ।
जिल्ला क्रिकेट संघले आयोजना गरेको खेलको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले ब्याटिङ र कालिका सामाजिक विकास केन्द्रका निर्देशक रामेन्द्र सिह रावलले बलिङ गरी खेलको शुभारम्भ गरिएको हो ।
सो अवसरमा नगर प्रमुख पौडेलले क्रिकेट अब स्वास्थ्यका लागि मात्र नभएर आय आर्जनका लागि समेत माध्यम बन्न सफल भएको बताए । राम्रो खेलाडीलाई क्यानले अहिले मासिक रुपमा राम्रो पारिश्रमिक दिने गरेकाले क्रिकेटबाट समेत बाच्ने आधार बनेको बताए ।
उनले आफ्नो पालिकाले समेत क्रिकेट खेलको विकासका लागि राम्रो लगानी गरेको र हरेक बर्ष मेयर कप संचालन गर्ने गरेको बताए ।
सो अवसरमा क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरले कपिलवस्तुमा क्रिकेट खेल चर्चित बनेको र यहाका खेलाडीले राम्रो प्रर्दशन समेत गर्ने गरेको बताए । उनले अहिले भर्खर कपिलवस्तुका क्रिकेट खेलाडी रौनकले २ सय १७ बनाएर किर्तिमान समेत राखेको कपिलवस्तुका चर्चा समेत भएको उनले बताए ।
उनले क्रिकेट खेलका विकासका लागि सबै पालिकाले लगानी गर्नु पर्ने बताए । वडा नम्बर १ र वडा नम्बर १० बिच भएको पहिलो खेलमा वडा नम्बर १ ले ४ बिकेटले जितेको छ । यस्तै दोश्रो खेल वडा नम्बर ८ र ९ बिच भएको छ ।
संघका जिल्ला अध्यक्ष गैरेको अध्यक्षता कोषाध्यक्ष पदमराज श्रेष्ठको संचालनमा भएको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मोहम्द जाहिद खा, २ का अध्यक्ष अशोक कुमार गुप्ता, १० का अध्यक्ष मोहन लाल शर्मा र ११ का अध्यक्ष राम गोपाल यादवको सहभागीता थियो ।
५ दिन सम्म चल्ने खेलमा प्रथम हुनेलाई नगद ४० हजार र कप तथा द्धितीय हुनेलाई २० हजार नगद र उप बिजेता कप प्रदान गरिने छ ।































