सशस्त्र प्रहरीलाइ विपद् तथा खोज–उद्धार सामग्री हस्तान्तरण
कपिलवस्तु, । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हे.क्वा. बर्मेलिटोल अन्तर्गतको सीमा प्रहरी चौकी (बीओपी) मर्यादपुरलाई जीवन सुधार परियोजनाबाट विभिन्न विपद् तथा खोज–उद्धार सामग्री हस्तान्तरण गरिएको छ।
उक्त सामग्री दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालित जीवन सुधार परियोजनाबाट, यशोधरा गाउँपालिकाको समन्वयमा, सशस्त्र प्रहरी बललाई प्रदान गरिएको हो।
यशोधरा गाउँपालिका आगलागी तथा बाढी–डुबानको उच्च जोखिममा रहेकाले, गाउँ विपद् व्यवस्थापन समितिको सहकार्यमा समुदायको प्रतिकूल अवस्थासँग जुध्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको जनाइएको छ।
गत तीन वर्षदेखि दलित सामाजिक विकास केन्द्र र सशस्त्र प्रहरी बल बीओपी मर्यादपुरको सहकार्यमा विपद् खोज तथा उद्धार तालिम, आगलागीसम्बन्धी जनचेतना कार्यक्रमजस्ता गतिविधिहरू सञ्चालन हुँदै आएका छन्।
यसपटक हस्तान्तरण गरिएका सामग्रीमा लाइफ ज्याकेट, फायर बुट, ग्याम्बुट, स्टेचर, साइरन माइक, हेडलाइट, बेल्चा, बाल्टिन, फायर स्टिड ग्युसर, सेफ्टी हेल्मेट लगायतका आवश्यक उद्धार उपकरणहरू समावेश छन्।
सामग्री सशस्त्र प्रहरी उपरीक्षक नेत्र के.सी.लाई दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक तथा गाउँपालिका विपद् फोकल पर्सन कृष्णनाथ पाण्डेद्वारा सशस्त्र प्रहरी बेस क्याम्प डगरीमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल बीओपी मर्यादपुरका इन्चार्ज नवराज देवकोटा , जीवन सुधार परियोजनाका अधिकृत रमेश प्रसाद कुर्मी, फिल्ड सुपरभाइजर लग्गन हरिजन लगायतको उपस्थिति रहेको थियो।































