लुम्बिनीमा विशेष कार्यक्रमसहित अन्तर्राष्ट्रिय योग दिवस मनाइयो
काठमाडौँ, असार ७ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा ११औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विशेष योग कार्यक्रम आयोजना गरिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भए।
कार्यक्रममा दुवै विशिष्ट अतिथिले भगवान् बुद्धको पवित्र जन्मस्थलमा यस्तो कार्यक्रम आयोजना गर्नु महत्वपूर्ण रहेको भन्दै भारतीय दूतावासलाई धन्यवाद ज्ञापन गरे। उनीहरूले यस्तो आयोजनाले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा लुम्बिनी विकास कोषका पदाधिकारीहरू सहित ५०० भन्दा बढी योग अभ्यासकर्ताहरूको उपस्थिति थियो।
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले योगको उत्पत्ति भारतमा भए पनि हाल यसले विश्वव्यापी स्वरूप लिएको बताउँदै संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा घोषणा गरेपछि यसको प्रभाव झन् बढेको उल्लेख गरे।
लुम्बिनीजस्तो शान्ति, अहिंसा र सद्भावको प्रतीक स्थलमा योग दिवस मनाउनु विशेष अर्थपूर्ण रहेको बताउँदै राजदूत श्रीवास्तवले लुम्बिनीलाई विश्व आध्यात्मिक तथा धार्मिक पर्यटनस्थलको रूपमा प्रवर्द्धन गर्न यस्ता कार्यक्रम सहायक हुने बताए। उनले कार्यक्रम आयोजना गर्न सहयोग पुर्याएकोमा लुम्बिनी विकास कोषप्रति आभार व्यक्त गरे।
लुम्बिनीको यो कार्यक्रम नेपालभर भारतीय दूतावासद्वारा आयोजित योग कार्यक्रमहरूको एक अङ्ग हो। यसैक्रममा भोलि (असार ८ गते) भारतीय दूतावास र पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा रंगशालामा विशेष योग कार्यक्रम आयोजना हुने जानकारी दूतावासले दिएको छ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













