गुल्मीको रिडी–वामीटक्सार सडक एकतर्फी सञ्चालनमा, कालीगण्डकी करिडोर अझै अवरुद्ध
गुल्मी, असार ७ — अविरल वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध भएको गुल्मीको रिडी–वामीटक्सार सडक खण्ड आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ।
चन्द्रकोट गाउँपालिका–७ सिस्ने भीर क्षेत्रमा सडकमाथिबाट खसेको ढुङ्गा र माटोको केही भाग पन्छाएपछि उक्त सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो। उहाँका अनुसार हिजो दिउँसोबाट पूर्णरूपमा अवरुद्ध रहेको सडक गएरातिदेखि आंशिकरूपमा खुलाइएको हो।
यसैबीच गुल्मीको कालीगण्डकी करिडोर सडक भने अझै पनि अवरुद्ध रहेको छ। कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरेमा पहिरो खसेपछि दुई दिनदेखि यातायात पूर्णरूपमा ठप्प भएको छ। पहिरो पन्छाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
पानी परिरहेकाले उद्धार र सरसफाइमा कठिनाइ भइरहेको जनाइएको छ।
उक्त पहिरोका कारण चन्द्रकोट गाउँपालिका–१ सराङस्थित चार घर उच्च जोखिममा परेका छन्। घरमाथिबाट आएको पहिरोले खतराको अवस्थामा पु-याएपछि ती परिवार विस्थापित भएका छन्।
चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्रीका अनुसार प्रभावित परिवारहरू हाल स्थानीय तथा आफन्तकोमा आश्रय लिएर बसेका छन्।































