कपिलवस्तु वडा नं. ११ मा दुई घरमा चोरी, लाखौंको धनमाल लुटियो
कपिलवस्तु, असार ७ गते । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ११ नारैनापुर (आरौरा)मा गए राति दुई घरमा चोरी भएको छ । लगातारको वर्षालाई मौका बनाएर चोरहरूले मजहार मिया र अनिल जोल्हाको घरमा चोरी गरेका हुन् ।
स्थानीय स्रोतका अनुसार, मजहार मियाको घरबाट लाखौं रुपैयाँ बराबरको सुनको गरगहना र ७५ हजार रुपैयाँ नगद चोरी भएको छ । चोरहरू घरका सदस्यहरू सुतिरहेको अवस्थामा घरमा पसेर चोरी गरेको बताइएको छ ।
त्यस्तै, अनिल जोल्हाको घरबाट ४ हजार रुपैयाँ नगदसहित दुई बोरा चामल समेत चोरिएको छ । चोरी भएको समय लगातार पानी परिरहेकोले चोरहरूले वातावरणको फाइदा उठाएर सजिलै चोरी गरेका हुन सक्ने आशंका गरिएको छ ।
घटनाबारे प्रहरीलाई जानकारी दिइएको र थप अनुसन्धान भइरहेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























