तिलोत्तमा, ८ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पशुपालक कृषकहरूको व्यवसायिक कार्यलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि औजार तथा पशु सामग्री वितरण गरेको छ।

नगरपालिकाको परिसरमा आयोजित कार्यक्रममार्फत ३१ जना कृषकलाई घाँस काट्ने मेसिन, पाउ म्याट, ब्रस कटर, गोठ सफा गर्ने मेसिनलगायत ७ प्रकारका आधुनिक उपकरणहरू प्रदान गरिएको हो।

नगरप्रमुख रामकृष्ण खाणले कृषकहरूको माग र आवेदनको आधारमा सामग्री वितरण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार खाना शुद्धता, गोठ सफाइ तथा पशुपालनको सहजता सुनिश्चित गर्न यस्ता उपकरणहरूलाई प्राथमिकता दिइएको हो।

कार्यक्रममा नगर उपप्रमुख जगेश्वर देवी चौधरीले दुग्ध र मासुको उत्पादन वृद्धि गर्न पशुपालकलाई निरन्तर प्रोत्साहन दिइँदै आएको उल्लेख गर्दै आगामी बजेटमा पनि कृषक लक्षित कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले यस्ता सामग्रीले पशुपालकहरूलाई थप आत्मनिर्भर र व्यावसायिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सामग्री वितरण कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठक, वडा नम्बर ५ का सदस्य हिरा गिरी ‘डायमण्ड’, पशु शाखाका प्रमुख राजु कुँवर मगर, पशु चिकित्सक ईन्द्रकला खत्री तथा सबै वडाका कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।