धानको बीउ लिएर जाँदै गरेको ट्याक्टर पोखरीमा खस्दा दुई महिलाको मृत्यु
कपिलवस्तु, असार ९ । कपिलवस्तु नगरपालिका–८ दोहनीमा धानको बीउ लिएर रोपाइँ गर्न जाँदै गरेको ट्याक्टर पोखरीमा खस्दा दुई महिलाको मृत्यु भएको छ।
सोमबार बिहान साढे १० बजेतिर भएको दुर्घटनामा वडा नम्बर ८, पश्चिम बेलौहाकी २० वर्षीया दुर्गावती कोरी र ४५ वर्षीया दुर्गावती कोरीको ज्यान गएको वडा अध्यक्ष शिवकुमार पाण्डेयले जानकारी दिए।
नयाँ बनेको माटोको बाटो चिप्लिएपछि ट्याक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो। ट्याक्टरमा चालकसहित ६ जना सवार थिए। ट्याक्टर पल्टिएर पोखरीमा डुबेपछि दुई महिला च्यापिएर गम्भीर घाइते भए, जसका कारण दुबै जनाको मृत्यु भएको हो।
अन्य ३ जना घाइतेको कपिलवस्तु अस्पतालमा उपचार भइरहेको छ भने ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार ट्याक्टर पोखरीमै डुबेकाले त्यसको नम्बर खुल्न सकेको छैन। घटनाको अनुसन्धान र चालकको खोजी जारी रहेको बताइएको छ।































