मर्चवार, असार ९ । आज बिहान रुपन्देहीको मर्चवारी गाउँपालिका–३ महाराजगञ्जमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

मृतक ४५ वर्षीया प्रमिला यादव बिहान साढे ६ बजे आफ्नै खेतमा रोपाइँ गर्न गएकी थिइन्। खेत घरबाट करिब एक सय मिटर पूर्वतर्फ पर्छ। रोपाइँको क्रममा अचानक चट्याङ लागेपछि उनी बेहोस भएकी थिइन्।

इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनदेव साउदका अनुसार, बेहोस अवस्थामै उनलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको पुष्टि गरिएको छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।