जङ्गली च्याउ खाँदा गुल्मीमा एकै परिवारका तीन जना बिरामी
रेसुङ्गा, असार १३ । गुल्मीको मुसिकोट नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ७६ वर्षीय थम्मनबहादुर कुमाल, ६८ वर्षीया उनकी पत्नी फुलमाया कुमाल र ३६ वर्षीया बुहारी गीता कुमाल बिहीबार स्थानीय जंगलबाट टिपेर ल्याइएको च्याउ पकाएर खाएपछि बिरामी परेका हुन्।
च्याउ खाएपछि उनीहरूलाई रिङ्गटा लाग्ने र बान्ता हुने समस्या देखिएको थम्मनबहादुरका छोरा कमल कुमालले बताए। घटनाका बेला घरमा रहेका बालबालिका भने पहिल्यै खाना खाएर विद्यालय गएकाले जोगिएका छन्।
बिरामीको लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा उपचार भइरहेको छ। थम्मनबहादुर र उनकी पत्नीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ भने गीता कुमालको सामान्य कक्षमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























