औषधि व्यवसायी सङ्घको ५२ औँ स्थापना दिवस अवसरमा बालबालिकालाई सामग्री वितरण
कपिलवस्तु, असार १३ । नेपाल औषधि व्यवसायी सङ्घ कपिलबस्तुले ५२ औँ स्थापना दिवसका अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ मा रहेको गौतम बुद्ध आधारभूत विद्यालय, सडवामा बाल विकासका बालबालिकालाई जुत्ता राख्ने र्याक, खेलकुदका सामग्री, प्राथमिक उपचारका औषधि, कापी र पेन्सिल वितरण गरिएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम औषधि व्यवसायी सङ्घले सामाजिक उत्तरदायित्वका रुपमा संचालन गरेको हो ।
सो कार्यक्रममा नेपाल औषधि व्यवसायी सङ्घका जिल्ला अध्यक्ष मनुल्लाह खा, उपाध्यक्ष मनिराम पाण्डे, महासचिव बेदुराम भुसाल, कोषाध्यक्ष मतीराम घिमिरे, विद्यालयका प्रधानाध्यापक शर्मिला थापा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा अध्यक्ष खाले बालबालिकाको शैक्षिक तथा स्वास्थ्य सुरक्षामा सहयोग पुगोस् भनेर सामग्री वितरण गरिएको बताउनुभयो । प्रधानाध्यापक शर्मिला थापाले विद्यालयमा अध्ययनरत बालबालिकाको आवश्यकता पूरा गर्न यस्ता कार्यक्रमले ठूलो सहयोग हुने धारणा राख्नुभयो ।
कार्यक्रममा बालबालिका, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा स्थानीय समाजका प्रतिनिधिको सहभागिता रहेको थियो ।































