कपिलवस्तु, असार १४ गते । जिल्लाको मायादेवी गाउँपालिका ५ बालुहवामा शनिबार निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन भएको छ । शिविरबाट २ सय २५ बढी स्थानीयवासीले सेवा लिएका छन् ।
दलित सामाजिक विकास केन्द्रको परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजना अन्तर्गत सूर्योदय युवा क्लबको सहआयोजनामा तथा साझा अस्पताल बुटवल र हरैया फार्मेसीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा हाडजोर्नी, नशा तथा बाथरोग, छाला तथा सौन्दर्य रोग, प्रसूति तथा स्त्रीरोग, पेट छाती तथा मुटु सम्बन्धी रोगका विशेषज्ञहरूले स्वास्थ्य सेवा दिएका छन् ।
शिविरको संयोजन दलित सामाजिक विकास केन्द्र र युएमएनको साझेदारीमा सञ्चालित परियोजनाले गरेको हो ।
शिविर उद्घाटन कार्यक्रममा सिवाई सिसि परियोजनाका कार्यक्रम संयोजक जितेन्द्र चौधरी, दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक राम शरण रैदास, वडा नं. ५ का वडाध्यक्ष राघवेन्द्र पाण्डेय, तथा साझा अस्पतालका वरिष्ठ हाडजोर्नी–बाथरोग विशेषज्ञ डा. लक्ष्मण शर्मा लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा बोल्दै केन्द्रका कार्यकारी निर्देशक रैदासले पिछडिएका समुदायको स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्न यस्ता शिविरहरू महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रम संयोजक चौधरीले समेत जनताको घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो ।
वडा अध्यक्ष पाण्डेयले स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न स्थानीय तहले सहकार्यका कार्यक्रमलाई प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गरे । शिविरबाट स्थानियहरु खुशि भएका थिए ।