संकटमा परेका समुदाय र सरोकारवाला बीच अन्तरक्रिया
कपिलबस्तु । कपिलवस्तु जिल्लामा अष्ट्रेलियन एड र युएमएनको सहयोगमा दलित सामाजिक विकास केन्द्रले सञ्चालन गरेको जीविकोपार्जन तथा वातावरण सुधारद्वारा समुदायको उत्थानशीलता सशक्तिकरण (जीवन सुधार) परियोजना अन्तर्गत संकटाभिमुख समुदाय र सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सुरजमती पासीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य सुधाकर पाण्डे रहनुभएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशमा विपद् जोखिमको अवस्था बारेमा प्रस्तुति गर्दै रमेश कुर्मीले प्रदेशका धेरैजसो क्षेत्रमा जोखिम व्यवस्थापन अझ प्रभावकारी बनाउनुपर्ने औंल्याउनुभयो ।
त्यसैगरी, श्यामु कोरीले कपिलवस्तुका विभिन्न खोरिया समुदायका समस्या राख्नुभएको थियो । उनले स्थायी आवास र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न प्रदेश सरकारसँग माग गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य पाण्डेले संकटमा रहेका समुदायको समस्यालाई सम्बोधन गर्न आफ्नो नेतृत्व मार्फत आफ्नै समस्या समाधानतर्फ पहल गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरूले जिताएर पठाएका जनप्रतिनिधिहरूसँग डराइरहनु पर्दैन, तपाईंकै समस्याको समाधानमा उनीहरू प्रतिबद्ध छन् भन्ने कुरामा विश्वास राख्नुहोस् ।”
दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले विपद्को जोखिममा रहेका समुदायको अवस्था बुझ्न र उनीहरूको क्षमतालाई सशक्त बनाउन यस कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय बासिन्दा, सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
































