सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न
कपिलवस्तु, असार १८ गते । जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरूसँग सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला हुलाक कार्यालय कपिलवस्तुका प्रमुख शिवलाल बन्जाडेको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी पदम लाल लामिछाने रहनुभएको थियो। उहाँले सूचनाको हकसम्बन्धी कानुनी व्यवस्था, यसको प्रभावकारी कार्यान्वयन र नागरिकलाई समयमै जानकारी दिनुपर्ने दायित्वका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले भन्नुभयो, “सूचनाको हकले नागरिक र सरकारबीचको विश्वास बलियो बनाउँछ। सूचनामा पहुँच नागरिकको मौलिक अधिकार हो, त्यसलाई प्रभावकारी बनाउने जिम्मेवारी सूचना अधिकारीहरूले बहन गर्नुपर्छ।”
त्यस्तै नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले पारदर्शिता र जवाफदेहिताका लागि सूचनाको हकलाई अझै सक्रिय रूपमा कार्यान्वयन गर्न जोड दिनुभयो।
उहाँले भने, “सूचनाको हक कार्यान्वयनमा लचकता वा ढिलासुस्ती हुँदा आम नागरिकमाथि अन्याय हुन्छ। पत्रकारहरुले समेत सजिलै सूचना पाउनुपर्छ ताकि सत्य सूचना प्रवाह सशक्त हुन्छ।”
कार्यक्रममा जिल्लाका सबै कार्यालयका सूचना अधिकारीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले सूचनाको हक कार्यान्वयनमा देखिएका चुनौती तथा समाधानका उपायबारे आफ्ना अनुभव र सुझाव समेत आदानप्रदान गरेका थिए।































