बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक
लमजुङ, साउन २५ । लमजुङ र मनाङ जिल्लालाई जोड्ने बेँसीसहर–चामे सडकखण्डमा आज ९मङ्गलबार० रातिदेखि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रासमेत जोखिमपूर्ण हुने निष्कर्ष निकाल्दै साउन महिनाभर बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेक सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार लगातारको वर्षाका कारण पहिरो, सडक अवरुद्ध तथा अन्य विपद्को सम्भावना रहेकाले यात्रु तथा सवारीसाधनको सुरक्षाका लागि यो निर्णय गरिएको हो।
प्रशासनका अनुसार अर्को निर्णय नभएसम्म बेँसीसहर–चामे–खाङसार ९माथिल्लो मनाङ० सडकखण्डमा सार्वजनिक, निजी तथा सरकारी सवारीसाधन रातिको समयमा सञ्चालन गर्न नपाइनेछ।
सडक प्रयोग गर्ने यात्रु तथा चालकहरूलाई सुरक्षित र समयमै गन्तव्यमा पुग्न अनुरोध गर्दै प्रशासनले चामे नजिकैको कोतोबाट अपराह्न साढे ४ बजेपछि बेँसीसहरतर्फ सवारी छुट्न नपाइने व्यवस्था गरिएको जनाएको छ। त्यसैगरी, ती सवारीहरू नासो गाउँपालिका–१ स्थित तालडाँडा प्रहरी चौकीबाट बेलुकी साढे ६ बजेसम्म पार भइसकेको हुनुपर्नेछ।
कुल ६५ किलोमिटर लामो यो सडकमा ३५ किलोमिटर भाग लमजुङ र ३० किलोमिटर मनाङ जिल्लामा पर्दछ।
सन् २०१२ ९विक्रम संवत् २०६९० मा तत्कालीन नेपाली सेना कार्यगण, बेँसीसहरद्वारा निर्माण सम्पन्न भएको यो सडक पछि सडक डिभिजन कार्यालय दमौली, तनहुँलाई हस्तान्तरण गरिएको थियो।































