नेपाली तथा भारतीय पत्रकारद्वारा बौद्ध परिपथको संयुक्त अवलोकन, पर्यटन प्रवर्द्धनमा जोड
लुम्बिनी, साउन २ गते — नेपाल र भारतका पत्रकारहरूको संयुक्त टोलीले हालै बौद्ध परिपथ अन्तर्गतका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलहरूको संयुक्त अवलोकन गरेको छ। दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप मजबुत बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको यस भ्रमणले बौद्ध धर्मसँग सम्बन्धित स्थलहरूको संरक्षण र समुचित विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ।

लुम्बिनी विकास कोषका पूर्व सदस्य राजेश ज्ञवालीको नेतृत्वमा सम्पन्न भ्रमणमा नेपालका विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूसँगै भारतका प्रमुख पत्रपत्रिका र टेलिभिजन च्यानलका पत्रकारहरूको सहभागिता थियो।

नेपालबाट सहभागी हुनेहरूमा वरिष्ठ पत्रकार रामविकास चौधरी, गोरखापत्रका नारद कोहार, राससका राधेश्याम विश्वकर्मा र पुरुषोत्तम सुवेदी, नेपाल टेलिभिजनका अजय वर्मा, थाहा सञ्चारका भूपाल थापा, बुद्ध आवाज टीभीका लक्ष्मण सापकोटा तथा साराखबरका दिनेश ठाकुर थिए। भारतबाट दैनिक सहारा पत्रिकाका जेपी गुप्ता र अमर उजालाका ध्रुव नारायण यादव सहभागी थिए।
टोलीले सबैभन्दा पहिले भगवान बुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन गर्यो। टोलीले मायादेवी मन्दिर, अशोक स्तम्भ र विभिन्न देशहरूले निर्माण गरेका विहारहरू अवलोकन गर्दा लुम्बिनीको शान्त वातावरण र आध्यात्मिक ऊर्जा प्रति प्रशंसा व्यक्त गर्यो।

त्यसपछि टोलीले सिद्धार्थ गौतमले बाल्यकाल बिताएको कपिलवस्तु र उहाँकी आमा मायादेवीको माइतीघर देवदहको भ्रमण गर्यो। भारतीय पत्रकारहरूले यी ऐतिहासिक स्थलहरूको महत्व बुझ्दै तिनीहरूको अन्तर्राष्ट्रिय प्रवर्द्धन आवश्यक रहेकोमा जोड दिएका थिए।

नेपाल भ्रमणपछि टोली भारतको उत्तर प्रदेशमा अवस्थित बुद्धको महापरिनिर्वाण स्थल कुशीनगर पुगेको थियो, जहाँ उनीहरूले प्रदेश सांसद मनिष जयसवालसँग भेटघाट गरेका थिए। जयसवालले दुई देशबीचको धार्मिक-सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन बुद्ध परिपथको समुन्नत विकास, कनेक्टिविटी विस्तार र पूर्वाधारमा सुधार गर्नुपर्नेमा जोड दिए।
टोलीले त्यसपछि बिहारको बोधगया पुगेको थियो, जहाँ महाबोधि मन्दिर लगायतका प्रमुख धार्मिक स्थलहरूको अवलोकन गरिएको थियो। रोयल थाई मोनास्ट्रीका प्रमुख भिक्षु निफोनले पत्रकारहरूको स्वागत गरेका थिए। यस अवसरमा टोलीले बिहार पर्यटन विभागका जनसम्पर्क अधिकारी रवि शंकर उपाध्याय र बिहार सूचना केन्द्रको समेत भ्रमण गरेको थियो। केन्द्रका सहायक सूचना अधिकारी मनमोहन सिंहले बिहार अन्य राज्यहरूसँग धार्मिक र सांस्कृतिक हिसाबले बलियो रहेको उल्लेख गर्दै राज्यका विविध पर्यटकीय स्थलहरूको जानकारी दिएका थिए।
भ्रमणका क्रममा नेपाली पत्रकारहरूले भारतका तीर्थयात्री तथा पर्यटकहरू नेपाल भ्रमणमा आउने सङ्ख्या बढाउन आग्रह गरेका थिए भने भारतीय पत्रकारहरूले नेपालका बौद्ध स्थलहरूको संरक्षण तथा पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
यो संयुक्त भ्रमण बौद्ध धर्मका अनुयायीहरू मात्र नभई इतिहास र संस्कृतिमा चासो राख्ने सबैका लागि महत्वपूर्ण सन्देश रहेको पत्रकारहरूको धारणा छ। यस्तो खालका संयुक्त प्रयासबाट नेपाल–भारतबीचको मित्रता अझ प्रगाढ हुनुका साथै बौद्ध परिपथ विश्व पर्यटन नक्सामा एक विशेष गन्तव्यको रूपमा स्थापित हुने आशा गरिएको छ।































