कपिलवस्तु, साउन ११ गते — यातायात व्यवस्था सेवा कार्यालय कपिलवस्तुले आफ्नो कार्यालय स्थानान्तरण गरी नयाँ स्थानबाट सेवा प्रदान गर्ने भएको छ। अबदेखि कपिलवस्तु नगरपालिका वडा नं. १, काली मन्दिर टोलस्थित कार्यालय सरेर वडा नं. ३, चप्परतल्लास्थित साविकको महिला तथा बालबालिका कार्यालयको भवनमा सञ्चालनमा आउने भएको छ।

कार्यालयका अनुसार २०८२ साल साउन ११ गते आइतवारदेखि सम्पूर्ण सेवा कार्यहरू नयाँ स्थानबाटै प्रदान गरिनेछन्। स्थान परिवर्तनको जानकारी सर्वसाधारण र सेवाग्राहीहरूलाई समयमै जानकारी दिनका लागि औपचारिक सूचना सार्वजनिक गरिएको हो।

निवर्तमान कार्यालय प्रमुख गोविन्द प्रसाद चौधरीले उक्त सूचनामा सबै सेवाग्राहीलाई जानकारी गराउँदै, नयाँ स्थानमा समेत गुणस्तरीय सेवा निरन्तर जारी रहने विश्वास व्यक्त गरेका छन्।

सवारी दर्ता, नवीकरण, लाइसेन्स प्रक्रिया लगायतका सबै सेवाहरू अब नयाँ भवनबाटै प्राप्त गर्न सकिनेछ। कार्यालयले स्थानान्तरणपछि थप प्रभावकारी र सहज सेवा दिने उद्देश्य राखेको जनाएको छ।