कपिलवस्तुलाई सुखाग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने जसपा नेपालद्वारा माग
लुम्बिनी समय । समाचारदाता
अन्नको भण्डारको रुपमा रहेको कपिलवस्तुलाई सुखाग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ । जसपा नेपालले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै सो माग गरेको हो ।
ज्ञापन पत्र बुझाउनु अघि जसपा नेपालका नेता तथा कार्यकर्ताहरुले प्रशासन कार्यालय अघि सुखाग्रस्त क्षेत्रको घोषणाका लागि नाराबाजी समेत गरेका थिए । मधेस प्रदेशलाई सुखाग्रस्त क्षेत्र घोषणा गरिएको भन्दै जसपा नेपालले कपिलवस्त सहीत सुखाग्रस्त रहेको अन्य जिल्लालाई समेत सुखा क्षेत्र घोषणा गर्न माग गरेको हो ।
जसपा नेपालका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, केन्द्रिय सदस्यहरु अब्दुल रसिद खा र साधिका यादव तथा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी दील कुमार तामाङलाई ज्ञापन पत्र बुझाएका थिए ।
रोपाई गरेको धान खेतमा समेत चिरा परेर डढेकोले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने जिल्ला अध्यक्ष यादवले माग गरेका छन् । यादवले सुख्खा क्षेत्र सहीत कृषकहरुलाई उचित राहत उपलब्ध गराउनु पर्ने बताए । सिचाई र मलखादको समेत उपलब्ध गराउनु पर्ने माग गरे । सरकारले सहजरुपमा मलखाद बितरणको प्रकृया अबिलम्ब गर्नु पर्ने तथा सिमा नाकामा समेत मलखाद ल्याउने कृषकलाई अनावश्यक दुःख दिन नहुने उनले माग गरे ।































