काठमाण्डौ – एभरेस्ट महिला भलिबल लिगको फ्रेन्चाइज टोली लुम्बिनी लाभाजले रसियन खेलाडी भेरोनिका जुवरेभलाई अनुबन्ध गरेको छ । नेपाल भलिबल सङ्घको सहकार्यमा इन्फिनिटी ड्रिम्स प्रा. लि. ले आयोजना गर्ने प्रतियोगितामा लुम्बिनीले रसियाकी आउटसाइड हिटर जुवरेभलाई अनुबन्ध गरेको हो ।

जुवरेभ मिडल ब्लकर पोजिसनमा बलियो उपस्थिति जनाउने खेलाडीका रूपमा चिनिन्छिन् । उनले रसियाको विभिन्न शीर्ष लिग र क्लबहरूमा खेल्दै आएकी छिन् । बलियो ब्लकिङ, तीव्र प्रतिक्रिया क्षमता र नेट अगाडि निर्णायक अङ्क दिलाउने उनको कौशलता टोलीका लागि महत्त्वपूर्ण योगदान हुने लुम्बिनी लाभाजले जनाएको छ ।

टोलीलाई अझै सशक्त बनाउन अन्य दुई विदेशी खेलाडीको नाम केही दिनमै सार्वजनिक गरिने टिम म्यानेजर स्तुति निरौलाले बताउनुभयो । यसअघि सम्पन्न अक्शनमार्फत लुम्बिनीले नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित कमला विष्ट, अलिसा मानन्धर, शान्तिकला तामाङ, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई अनुबन्ध गरिसकेको छ ।

दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग आउँदो भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदैछ ।