कपिलवस्तु, भदौ १५ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको सूचनाअनुसार यस वर्षको निजामती सेवा दिवस–२०८२ कपिलवस्तुमा विभिन्न कार्यक्रमसहित उल्लासमय रुपमा मनाइने भएको छ।

कार्यालय प्रमुखहरूको बैठक तथा छलफलपछि तय गरिएका कार्यक्रमअनुसार भदौ २० गते दिउँसो ४ बजे कपिलवस्तु नगरपालिका र डिभिजन वन कार्यालयको सहकार्यमा तौलिहवामा वृक्षारोपण कार्यक्रम हुनेछ।

त्यस्तै, भदौ २० र २१ गते बुद्धभूमि, महाराजगंज र कपिलवस्तु नगरपालिकासँगै कर्मचारी मिलन केन्द्रको सहयोग तथा कपिलवस्तु ब्याडमिन्टन क्लबको समन्वयमा पुरुष डबल, जिल्ला स्तरीय खुला डबल, जिल्ला स्तरीय भेट्रान्स डबल प्रतियोगिता आयोजना गरिनेछ।

भदौ २१ गते बिहान ७ बजे कपिलवस्तु बालगृहका बालबालिकालाई इनडोर खेल सामाग्री वितरण गरिनेछ भने बिहान ८ बजे नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तु अस्पतालका बिरामीलाई फलफूल वितरण गर्नेछ। सोही दिन नेपाल निजामती कर्मचारी युनियनले तौलेश्वरनाथ संस्कृत माविमा रहेका फरक क्षमताका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम पनि रहेको छ।

भदौ २२ गते जिल्लाका सबै कार्यालयहरूले कार्यालय परिसर सरसफाई गर्ने र पहिलो सेवाग्राहीलाई सम्मानसहित सेवा प्रदान गर्नेछन्। सोही दिन बिहान ७ बजे जिल्ला प्रशासन कार्यालय अगाडिबाट प्रभातफेरी कार्यक्रम निकालिने र त्यसपछि कपिलवस्तु नगरपालिकाको हलमा विशेष कार्यक्रम तथा पुरस्कार वितरण गरिनेछ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सबै सरकारी कार्यालय र स्थानीय तहलाई तोकिएका कार्यक्रम सफल बनाउन सहयोग, समन्वय र कार्यान्वयनमा जुट्न आग्रह गरेको छ।