काठमाण्डौ – आज मधेशबाहेक अरू प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा तथा राति कोशी र सुदूरपश्चिमका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण बाढी तथा पहिरोको जोखिम पनि रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।