कपिलवस्तु । नेसनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड तौलिहवा शाखाले बिमा अभिकर्ताहरूलाई लक्षित गर्दै पुनर्ताजगी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । साथै कम्पनीले यस अवसरमा विजयादशमी आदानप्रदान कार्यक्रम समेत आयोजना गरेको हो ।
कार्यक्रमको अध्यक्षता शाखा प्रमुख उत्तम प्रसाद भट्टराईले गर्नुभएको थियो भने लुम्बिनी प्रदेशका प्रमुख दीप नारायण खनाल प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले बिमा अभिकर्ता आर्थिक सुरक्षाका अग्रपंक्तिका अभियन्ता भएको भन्दै ग्राहकको विश्वास जित्दै पारदर्शी सेवा दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – “बिमा क्षेत्र राष्ट्रको आर्थिक स्तम्भ हो, अभिकर्ताहरू नै यसको मेरुदण्ड हुन् । तपाईँहरूले देखाउने प्रतिबद्धताले समाजमा बिमाप्रतिको विश्वास अझ बढ्नेछ ।”
त्यस्तै, शाखा प्रमुख भट्टराईले कम्पनीले नियमित रुपमा तालिममार्फत अभिकर्ताहरूलाई अद्यावधिक गर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो – “बिमा व्यवसायमा विश्वास र सेवाको गुणस्तर नै जीवनरेखा हो । यो तालिमले अभिकर्ताहरुलाई अझ दक्ष बनाई ग्राहकलाई समयमै सेवा पुर्‍याउन सहयोग गर्नेछ ।”
कार्यक्रममा लामो समयदेखि सक्रिय रहँदै आएका अभिकर्ताहरूलाई सम्मान गरिएको र नयाँ अभिकर्तालाई तालिममार्फत प्रेरित गरिएको कम्पनीले जनाएको छ ।