लुम्बिनी सांस्कृतिकमा स्वास्थ्य स्वयंसेविकालाई साइकिल वितरण
सुकई कोहार
लुम्बिनी, असोज ९ गते । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मा स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरूप साइकिल वितरण कार्यक्रम सम्पन्न भएको छ।
वडा अध्यक्ष ईनामुल्लाह फकीरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका स्वास्थ्य प्रमुख ध्रुवराज घिमिरे, आधारभूत स्वास्थ्य चौकीका इन्चार्ज परसुराम मल्लाह, वडा सदस्य, व्यवस्थापन समितिका पदाधिकारी तथा स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो।
कार्यक्रममार्फत वडाका १० जना स्वास्थ्य स्वयंसेविकालाई साइकिल हस्तान्तरण गरिएको हो। साइकिल वितरण कार्यक्रममा वडा अध्यक्ष फकीरले स्वास्थ्य सेवा विस्तारमा स्वयंसेविकाहरुको भूमिकालाई महत्वपूर्ण बताउँदै प्रोत्साहनका लागि साइकिल उपलब्ध गराइएको बताए।
यस्तै, स्वास्थ्य शाखा प्रमुख घिमिरेले स्वयंसेविकाहरु गाउँ–गाउँमा पुगेर स्वास्थ्य सेवा पुर्याउने संवाहक भएको भन्दै यो सहयोगले उनीहरुको कार्य सम्पादनमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे।































