तौलिहवा उद्योग वाणिज्य संघद्वारा प्रहरी उपरीक्षक आचार्यलाई स्वागत
कपिलवस्तु । हालै जिल्ला प्रहरी कार्यालयमा सरुवा भई आउनु भएको प्रहरी उपरिक्षक सन्तोष आचार्यलाई तौलिहवा उद्योग वाणिज्य संघले स्वागत गरेको छ । संघले आयोजना गरेको स्वागत कार्यक्रममा अध्यक्ष गयादिन कुर्मी, वरिष्ठ उपाध्यक्ष सन्दिप श्रीवास्तव, कोषाध्यक्ष बृजेश भटरा लगायत उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष गयादिन कुर्मीले जिल्ला सुरक्षा संवेदनशील भएको भन्दै प्रहरी प्रशासनसँगको सहकार्यले मात्रै शान्ति सुरक्षा सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । “उद्योगी व्यवसायीको सुरक्षामा प्रहरी प्रशासनको सक्रियताले सघाउ पुग्छ । हामी साझेदारी गर्दै अघि बढ्छौं,” उहाँले भन्नुभयो ।
सोही अवसरमा नव नियुक्त प्रहरी उपरीक्षक सन्तोष आचार्यले कपिलवस्तु जिल्लामा शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । “जनतासँगको सहकार्य र आपसी विश्वासकै आधारमा प्रहरी सेवालाई प्रभावकारी बनाइन्छ । व्यवसायी समुदायलाई सुरक्षा दिन प्रहरीले कुनै कसर बाँकी राख्दैन,” उहाँले भन्नुभयो ।































