कपिलवस्तु । राष्ट्रिय मुक्ति पार्टी नेपालले कपिलवस्तुमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाको तौलिहवामा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २५ जना कार्यकर्ताहरूले राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरू कपिलवस्तु नगरपालिका वडा नं. २, ४, ६, ८ र ११ का बासिन्दा रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीकी केन्द्रीय नेतृ नाजिया खानले पार्टीले देशमा समानता, न्याय र आर्थिक स्वावलम्बनका लागि संघर्ष गरिरहेको बताइन् । उनले भनिन्, “हामी जनताको अधिकारका पक्षमा लडिरहेका छौं । नयाँ युवाशक्ति र महिला सहभागिता नै हाम्रो बल हो ।”
त्यस्तै, जिल्ला अध्यक्ष कैलाश अग्रहरीले नयाँ कार्यकर्ताको प्रवेशले संगठन अझ सबल भएको बताए । उनले थपे, “राष्ट्रिय मुक्ति पार्टी अब गाउँ–गाउँमा विस्तार हुँदैछ । हामी जनताको मुक्ति र विकासको अभियानमा दृढ छौं ।”
कार्यक्रमको सञ्चालन नगर अध्यक्ष बलराम प्रसाद बारीले गरेका थिए । कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
















