दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न प्रदेशवासीमा अपिल गर्नुभएको छ । कोशी प्रदेशको सुनसरीको देवानगन्जसहितका क्षेत्रमा हालै भएका दुःखद घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संयमता अपनाउन आग्रह गर्नुभएको हो ।
मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको अपिलमा शान्ति, अमनचयन र आपसी भाइचारा कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ । उहाँले घटनामा ज्यान गुमाउनुहुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
घटनापछि उत्पन्न विषम परिस्थितिलाई सामान्य बनाउन तीन तहका सरकार र सम्बन्धित निकायबाट प्रभावकारी प्रयास भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नागरिकलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्ने अवस्था सिर्जना गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेश सदियौँदेखि विभिन्न जातजाति, भाषाभाषी र धर्मका समुदायबीचको सहअस्तित्व, सहिष्णुता र सद्भावको भूमि रहेको उल्लेख गर्दै उहाँले यही पहिचानलाई अझ बलियो बनाउन आग्रह गर्नुभएको छ ।‘भ्रातृत्व, सहिष्णुता, सामाजिक तथा धार्मिक सद्भाव नै लुम्बिनी प्रदेश र समग्र नेपालको वास्तविक पहिचान र शक्ति हो,’ अपिलमा भनिएको छ ।
मुख्यमन्त्री आचार्यले परिस्थितिलाई थप बिग्रन नदिई ऐतिहासिक सद्भाव, एकता र आपसी भाइचारालाई मजबुत बनाउन राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरु तथा सम्पूर्ण प्रदेशवासीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
लुम्बिनी प्रदेशले सदैव आपसी सद्भाव र मेलमिलापको सन्देश दिँदै आएको उल्लेख गर्दै उहाँले शान्तिको सन्देश बोकेको प्रदेशमा कायम रहेको धार्मिक, सामाजिक तथा जातीय सद्भाव, सहिष्णुता र भ्रातृत्वलाई अक्षुण्ण राख्दै अघि बढ्न सबैमा आग्रह गर्नुभएको छ ।