महाराजगञ्ज–८ मा सरसफाइ अभियान, नदी कटान नियन्त्रण गर्न माग
कपिलवस्तु, कार्तिक १ गते ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–८ स्थित सिंगरहा गाउँमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । स्थानीय बस्तीका नालीमा माटो जमेको र सडकमा फोहोर बढेपछि सरसफाइ अभियान सञ्चालन गरिएको हो ।
महाराजगञ्ज नगरपालिका–८ का वडाध्यक्ष पदका उम्मेदवार राकेशकुमार ठाकुरको संयोजकत्वमा सञ्चालन गरिएको अभियानमा स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय हरदौनाका प्रहरीको सहभागिता रहेको थियो ।
ठाकुरका अनुसार गाउँका नालीमा माटो जम्दा पानीको निकासमा समस्या हुनुका साथै सडकमा फोहोर बढेकाले सरसफाइ अभियान सञ्चालन गरिएको हो । उहाँले वडाका विभिन्न टोलमा अभियानलाई निरन्तरता दिने बताउनुभयो ।
‘स्वच्छ वडा, स्वस्थ नागरिक, समृद्ध समाज—हाम्रो वडा, हाम्रो जिम्मेवारी’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानमा उहाँले सरसफाइलाई सामूहिक जिम्मेवारीका रूपमा लिन सबैलाई आग्रह गर्नुभयो ।
ठाकुरले वडाका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन, नागरिकतासम्बन्धी काम तथा अन्य आवश्यक सेवामा सहयोग गर्दै आएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै किसानलाई समयमै मलखाद र सिँचाइको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो ।
वडाका विभिन्न गाउँका नागरिकले बाणगङ्गा नदीको कटानबाट समस्या भोग्दै आएको उल्लेख गर्दै उहाँले सिंगरहा, हरदौना र करैलियालगायतका बस्तीलाई कटानबाट जोगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताउनुभयो ।
उहाँले स्थानीयका समस्या समाधान गर्न आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै जनप्रतिनिधिका रूपमा निर्वाचित भए जनताको सुखदुःखमा साथ दिने बताउनुभयो ।
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













