बैमौसमी वर्षाले धान बालीमा क्षति पुगे पछि कपिलवस्तुका किसानहरु चिन्तित बनेका छन् । काटने अवस्थाको धान खेतमा पानी जमेको छ । यस्तै धान काटेर खोतमा छाडेका धान पानीले भिजेको र डुबे पछि किसानहरु चिन्तित छन् ।
बैमौसमी वर्षाले काटन तयार रहेको धान समते स्याहार्न नपाएर पानीले भिजे पछि मेहनत र लगानी खेर जान लागेको भन्दै किसानहरु चिन्तित बनेका हुन ।
मंगलबार सामान्य वर्षा भएको थियो । बुधबार भने वर्षा भएन । बिहीबार भने बिहानैदेखि निरन्तर वर्षा छ । वर्षा जारी रहे धान खेतमा अझै क्षति पुग्ने कृषि प्राविधिक बताउँछन । कृषि ज्ञान केन्द्र अनुसार जिल्लामा ६२ हजार ९०७ हेक्टर खेतमा धान लगाइएको छ । जसमध्ये २५ प्रतिशत मात्र धान काटिएको केन्द्रका प्रमुख घनश्याम चौधरीले बताए ।
दक्षिणी क्षेत्रभन्दा उत्तरी क्षेत्रमा धान काटिएको उनले बताए । काटेर खेत मै छाडिएको धान र खेतमा ढलेर डुबेका धानलाई वर्षाले क्षति गरेको उनले बताए । वर्षा नरोकिएर किसानहरुले थप क्षति ब्यहोर्नु पर्ने उनले बताए ।
विषेशगरी छिटो पाक्ने गोरखनाथ, राधा ४ र ६४४४ जातका धानलाई वर्षाले क्षति पुर्याएको उनले बताए । उनले धान बालीमा क्षति भएको बारे पालिकाहरुसंग समन्वय गरी विवरण संकलन जारी राखिएको बताए । पालिकाहरुले क्षतिको बिवरण संकलन गरे पछि वास्तविक अवस्था पत्ता लाग्ने उनले बताए ।
काट्न तयार रहेको, छिटो पाकेको बाली ढलेर पानीले भिजाउँदा धान खेतमा नोक्सान भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का शिवगढका किसान गंगाराम पासीले आफूले पाकेको धान खेतमा सुक्नलाई छाडको धान पुरै पानीमा डुबेर बर्वाद भएको बताए ।
















