कपिलवस्तु। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तु र कृषि ज्ञान केन्द्र कपिलवस्तुद्वारा संयुक्त रूपमा आर्थिक वर्ष २०८२/८३ का कार्यक्रमहरू सार्वजनिक गरिएको छ।
सो अवसरमा अस्पतालका प्रमुख डा. सुकाई प्रसाद थारु र ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले आगामी वर्षमा सञ्चालन गरिने प्रमुख योजना तथा कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख रमेश कुर्मीले किसानका समस्या समाधानका लागि योजना तर्जुमा गर्ने निकायहरूबीच सहकार्य र समन्वय अनिवार्य रहेको बताउँदै जिल्लास्तरमा एकीकृत कृषि तथा पशुपालन योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
मत्स्य विकास निर्देशनालयका निर्देशक डा श्रवण कुमार चौधरीले कृषिको विकास बिना देशको विकास सम्भव नभएको बताउँदै किसानको आयस्तर वृद्धि र उत्पादन वृद्धिमा सबै निकायको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले वास्तविक तथ्याङ्क र तथ्यपरक योजना बिना कुनै पनि विकास कार्यक्रम प्रभावकारी नहुने धारणा राख्नुभयो।
कार्यक्रमको अध्यक्षता भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. सुकाई प्रसाद थारुले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी जनार्दन अधिकारी, जिल्लाका सबै १० वटै स्थानीय तहका पशु शाखा प्रमुख र प्राविधिकहरूको समेत सहभागिता रहेको थियो।
















