कपिलवस्तु, पुस १२ गते । खुला सिमानाका कारण लागूऔषध प्रयोग तथा ओसारपसारको जोखिम बढ्दै गएपछि मायादेवी गाउँपालिकामा लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
प्रगतिशील युवा समाज कपिलवस्तुको आयोजनामा सम्पन्न कार्यक्रममा लागूऔषध दुव्र्यसन रोकथामका उपाय, त्यसका सामाजिक–आर्थिक असर तथा युवाको भूमिकाबारे सचेतना प्रदान गरिएको संस्थाका सचिव बिन्देसरी यादवले जानकारी दिनुभयो । उहाँका अनुसार कपिलवस्तु लगायत खुला सिमाना भएका क्षेत्रहरू लागूऔषध प्रयोग तथा बिक्री–वितरणको उच्च जोखिममा रहेकाले यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।
दलित सामाजिक विकास केन्द्र र यूएमएनको आर्थिक सहयोग तथा मायादेवी गाउँपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका आठवटै वडाबाट ५० भन्दा बढी युवाको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख प्रशिक्षकका रूपमा लामो समयदेखि लागू पदार्थ दुव्र्यसन क्षेत्रमा क्रियाशील करुणा चौतारी फाउन्डेसनका सुधारगृह सञ्चालक अरुण थापाले प्रशिक्षण दिनुभएको थियो ।
दलित सामाजिक विकास केन्द्र सीवाइसीसी परियोजनाका संयोजक जितेन्द्र चौधरीले विद्यार्थी तथा युवाहरू लागूऔषध दुव्र्यसनमा फस्दा समुदायमै नकारात्मक असर पर्ने गतिविधि बढ्दै गएको उल्लेख गर्दै कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताउनुभयो । उहाँले अभियानअन्तर्गत जोखिमयुक्त क्षेत्रका विद्यालयमा पुगेर विद्यार्थीलाई लागूऔषधबाट हुने हानि र असरबारे जानकारी गराई सचेत बनाउने कार्यलाई निरन्तरता दिन युवा क्लब र सञ्जाललाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा मायादेवी गाउँपालिका वडा नं. १ का वडा सदस्य अर्जुन चौधरी, गाइसाफी सर्फका प्रो. अकुल्मुद्दीन मुसलमान तथा दलित सामाजिक विकास केन्द्रका युवा संलग्नता अधिकृत परशुराम निगमको उपस्थिति रहेको थियो । प्रगतिशील युवा समाजका उपाध्यक्ष प्रमिला पालको अध्यक्षता र सचिव बिन्देसरी यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागीहरूलाई विद्यार्थी तथा युवाले लागूऔषधको कुलतबाट बच्नुपर्ने र कहीँ कतै लागूऔषध प्रयोग वा ओसारपसार भइरहेको जानकारी पाएमा तुरुन्त प्रहरीलाई सूचित गर्न आग्रह गरिएको थियो ।