कपिलवस्तु, पुस १४ । शीतलहर र चिसो मौसमका कारण सर्वसाधारणलाई जाडोबाट जोगाउन बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले कपिलवस्तु नगरपालिकाका विभिन्न स्थानमा आगो ताप्न प्रयोग हुने मुढा उपलब्ध गराउनुभएको छ।

नगरप्रमुख श्रेष्ठको पहलमा भिक्षुचोक, गौढी चोक, बहादुरगञ्जतर्फ जाने चोक तथा आन्दोलन चोकमा आगो ताप्नका लागि मुढा व्यवस्थापन गरिएको हो। शीतलहरका कारण बिहान र साँझको समयमा सार्वजनिक स्थलमा आवतजावत गर्ने सर्वसाधारण, मजदुर तथा यात्रीलाई सहजता प्रदान गर्ने उद्देश्यले मुढा वितरण गरिएको नगरपालिकाले जनाएको छ।

स्थानीयवासीले नगरप्रमुखको यस कार्यलाई मानवीय तथा समयसापेक्ष पहलको रूपमा स्वागत गरेका छन्। जाडोको समयमा सार्वजनिक स्थलमा आगो ताप्ने व्यवस्थाले जोखिम न्यूनीकरण हुनुका साथै चिसोबाट हुने सम्भावित स्वास्थ्य समस्याबाट बच्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बुद्धभूमि नगरपालिकाले आगामी दिनमा पनि शीतलहरको प्रभावलाई ध्यानमा राखी आवश्यक सहयोग तथा राहतका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।