गगन-विश्वको वक्तव्य : नियमित महाधिवेशन स्थगितको घोषणा, अबको विकल्प विशेष महाधिवेशन
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २६ देखि २८ गतेका लागि निर्धारित पार्टीको १५औं महाधिवेशन स्थगित भएको घोषणा गरेका छन्।
बिहीबार साँझ उनीहरूले जारीगरेको संयुक्त वक्तव्यमा नियमति महाधिवेशन गर्न सक्ने अवस्था नरहेकाले स्थगित गरिएको जनाएका छन्। उनीहरूले यसको विकल्प विशेष महाधिवेशन भएको जनाएका छन्।
उनीहरूले भनेका छन्, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत स्थगित गरिएको जानकारी गराइन्छ।’
नियमित महाधिवेशनको कार्य लक्ष्यअनुसार नभएकाले स्थगित गर्नुपर्ने अवस्थामा पुगेको उनीहरूले जनाएका छन्। महामन्त्रीद्वयले भनेका छन्, ‘पुस २६ गते नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार त्यसअघिका अन्य कार्यतालिका परिमार्जन गरी गति दिन नसकिएको कारण सम्पूर्ण कार्यतालिका प्रभावित भई निष्प्रभावी बन्न पुगेको छ। उत्पन्न भएको यस्तो अन्योल र अनिश्चिततालाई अन्त्य गर्न यो वक्तव्य जारी गर्न बाध्य भएका छौँ।’
उनीहरू अबको विकल्प विशेष महाधिवेशन भएको जनाएका छन्। ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो। तर नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ,’ उनीहरूले भनेका छन्।
विशेष महाधिवेशनका लागि सर्वसम्मन निर्णय गर्न पहल गर्ने जनाएका छन्। थापा र शर्माले भनेका छन्, ‘पार्टी विधानको दफा १७ (२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो। उक्त जिम्मेवारी अन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइनेछ।’
नियमित महाधिवेशन स्थगित भएको घोषणा गरे पनि उनीहरूले नयाँ क्रियाशील सदस्यता इन्ट्रीको कामलाई निरन्तरता दिन मातहतका समितिलाई निर्देशन दिएका छन्। अहिलेसम्म क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा आइपुग्दा समग्रमा ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भइसकेको जनाएका छन्। बाँकी रहेका खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा जिल्ला कार्यसमितिबाट नवीकरण प्रक्रिया टुंगिएपछि कुल नवीकरण संख्या करिब ६ लाखभन्दा बढी पुग्ने उनीहरूको अनुमान छ।
उनीहरूका अनुसार, यस अवधिमा १ लाख ९५ हजार ७ सय ३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भएको छ। अन्य जिल्ला तथा जनसम्पर्क समितिहरूबाट पनि नयाँ सदस्यता इन्ट्रीको कार्य निरन्तर भइरहेको छ।
महामन्त्रीद्वयले भनेका छन्, ‘नियमित महाधिवेशन तथा यससँग सम्बन्धित अन्य कार्यतालिका स्थगित भएको अवस्थामा पनि नयाँ क्रियाशील सदस्यता इन्ट्रीको कार्य निरन्तर जारी राख्न सबै तहलाई निर्देश गरिन्छ।’
































