पत्रकारमाथि धम्कीको घटनाप्रति प्रेस युनियनको आपत्ति
कपिलवस्तु, पुस २२ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारका कारण नेपाल प्रेस युनियन कपिलवस्तु शाखाका उपाध्यक्ष गणेश पोखरेललाई सामाजिक सञ्जालमार्फत गालीगलौज गर्दै भौतिक आक्रमणको धम्की दिइएको घटनाप्रति नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले गम्भीर आपत्ति जनाएको छ।
युनियनले सोमबार जारी गरेको विज्ञप्तिमा कुनै पनि समाचार वा सामग्रीप्रति असहमति वा गुनासो भए त्यसको समाधान प्रचलित कानुनी प्रक्रिया तथा नियमनकारी निकायमार्फत खोजिनुपर्ने उल्लेख गरेको छ। पत्रकारलाई धम्क्याउने, त्रसित बनाउने तथा आक्रमणको चेतावनी दिने कार्य निन्दनीय, गैरकानुनी र प्रेस स्वतन्त्रताविरोधी कदम भएको युनियनको ठहर छ।
नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले समाचारकै आधारमा पत्रकारमाथि गरिने कुनै पनि प्रकारका दुर्व्यवहारका घटनामा मौन नबस्ने स्पष्ट गर्दै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ।
साथै, युनियनले पत्रकारको पेशागत सुरक्षा सुनिश्चित गर्न राज्यका सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा जोड दिएको छ।
































