कांग्रेसमा विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका शर्मालाई आधिकारिक उम्मेदवारलाई समर्थन गर्न आचार्यको अपील
आफू र कमालको यो अन्तिम निर्वाचन भएको घोषणा
कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले कांग्रेसबाट विद्रोह गरी कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारी दिएका आशीष शर्मालाई पार्टीका आधिकारिक उम्मेदवार अतहर कमाललाई समर्थन गर्न आग्रह गरेका छन् ।
कांग्रेस जिल्ला कार्यसमितिले सदरमुकाम तौलिहवामा आयोजना गरेको निर्वाचन तयारीसम्बन्धी बैठकमा बोल्दै आचार्यले प्राविधिक कारणले शर्माले यसपटक कांग्रेसको टिकट पाउन नसकेको बताए । शर्मा ऊर्जावान र सम्भावनाशील युवा नेता भएकाले पार्टीको हितमा आधिकारिक उम्मेदवारलाई समर्थन गर्न उनले अपील गरे ।
आचार्यले आफू र उम्मेदवार अतहर कमाल दुवैको यो निर्वाचन अन्तिम भएको उल्लेख गर्दै शर्माले आफ्नो आगामी राजनीतिक भविष्यलाई मध्यनजर गर्दै निर्णय गर्नुपर्ने बताए ।
‘हामी दुवै जनाको यो चुनाव अन्तिम हो, शर्मा ऊर्जावान युवा हुन्, उनको भविष्य राम्रो छ, त्यसैले यस विषयमा गम्भीर भएर सोच्न जरुरी छ,’ उनले भने ।
यस विषयमा आफूले फोनमार्फत पनि शर्मासँग सम्पर्क गरी गम्भीर बन्न आग्रह गरेको आचार्यले जानकारी दिए । टिकटका लागि सबैले प्रयास गरे पनि जसले टिकट पाए पनि अन्ततः कांग्रेस नै भएको उनको भनाइ थियो । कांग्रेसभित्र फुट र अन्तरघात नभए अझै पनि चुनाव जित्ने आधार बलियो रहेको उनले दाबी गरे ।
कांग्रेस सभापति गगन थापालाई आगामी प्रधानमन्त्रीको रूपमा अगाडि सारेर पार्टी चुनावमा होमिएको भन्दै देशभर कांग्रेसको माहोल बन्दै गएको आचार्यले बताए । अहिले विगतका कमजोरी कोट्याउने समय नभएको र कुनै कमजोरी भए छलफलका लागि आफू तयार रहेको पनि उनले उल्लेख गरे ।
अनुशासनविपरीत काम गर्नेलाई केन्द्रीय कार्यसमितिले कडाइका साथ कारबाही गर्ने निर्देशन दिएको जानकारी दिँदै उनले नयाँ पार्टीहरूले स्टन्टबाजी र डिजिटल माध्यमको प्रयोग गरेर जनता भ्रममा पार्न खोजिरहेको आरोप लगाए । त्यसलाई चिर्न कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।































