तौलिहवा (कपिलवस्तु), माघ १४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा क्षेत्रीय प्रचार–प्रसार समिति गठन गरिएको छ । तौलिहवास्थित कांग्रेस पार्टी कार्यालयमा सम्पन्न जिल्ला भेलाले क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठको नेतृत्वमा क्षेत्रीय प्रचार–प्रसार समिति गठन गर्ने निर्णय गरेको हो ।

भेलाले पार्टीलाई नयाँ जोश, जाँगर र उत्साहका साथ संगठित गर्दै कांग्रेसका आधिकारिक उम्मेदवार सुरेन्द्रराज आचार्यलाई विजयी गराउन सबै तहका नेता–कार्यकर्तालाई परिचालित गर्ने निर्णय गरेको छ ।

सो अवसरमा बोल्दै क्षेत्रीय सभापति श्रेष्ठले मधेसको भावनालाई प्रयोग गरी केही नयाँ दलहरूले भ्रम सिर्जना गर्न खोजे पनि नेपाली कांग्रेसले सधैं मधेसलाई सम्मान गर्दै आएको बताए । कांग्रेसले मधेसी समुदायबाटै रामवरण यादवलाई राष्ट्रपतिको जिम्मेवारी दिएको स्मरण गराउँदै उनले कांग्रेस मधेसको हित र अधिकारका पक्षमा दृढ रहेको बताए ।

श्रेष्ठले नयाँ दलप्रति केही समय चर्चा चले पनि ती दलहरूले देश सञ्चालनमा ठोस उपलब्धि दिन नसक्ने दाबी गरे । चर्चित व्यक्तित्व मात्र लोकप्रियताका आधारमा नेतृत्वका लागि पर्याप्त नहुने उल्लेख गर्दै उनले अनुभवी र परिपक्व नेतृत्व आवश्यक रहेको बताए ।

उनले पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएपछि देशभर कांग्रेसप्रति सकारात्मक माहोल बनेको दाबी गर्दै लोकतन्त्र, स्थायी शान्ति, सुशासन र विकासका लागि कांग्रेसलाई मतदान गर्न मतदातासँग अपिल गरे । आपसी मतभेद र साना विवाद बिर्सेर पार्टीलाई सुदृढ बनाउँदै चुनावमा जुट्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा कांग्रेस जिल्ला सभापति अब्दुल कलाम, नगर सभापति खुर्सेद अहमद खाँ, रबी ठाकुर, दिनेश पाण्डेय, रिना नेपाल र प्रकाश गैरेलगायतले पार्टीलाई एकताबद्ध बनाएर आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।