कपिलवस्तु, २३ असार। जिल्लाकाे शुद्धोधन गाउँपालिका ५ स्थित दोहनी स्वास्थ्यचौकीलाई सुरक्षित गर्भपतन सेवायुक्त स्वास्थ्य संस्था घोषणा गरिएको छ। सोमबार आयोजित एक कार्यक्रमबीच स्वास्थ्यचौकीले सुरक्षित गर्भपतन सेवा सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गरेपछि औपचारिक रूपमा घोषणा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश्वर चौधरीले सुरक्षित गर्भपतन सेवा महिलाको प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले गुणस्तरीय र सहज सेवा उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व रहेको बताउनुभयो। उहाँले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वास्थ्य संस्थाहरूको सेवा विस्तारलाई निरन्तर प्राथमिकता दिइने जानकारी दिनुभयो।
वडा नं. ५ का वडा अध्यक्ष अशुतोष कुमार सिंहले दोहनी स्वास्थ्यचौकीलाई सुरक्षित गर्भपतन सेवायुक्त स्वास्थ्य संस्था घोषणा गरिनु वडावासीका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले अब असुरक्षित गर्भपतनका कारण हुने स्वास्थ्य जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सेवाको प्रभावकारी सञ्चालनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय सरोकारवाला तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।