चितवन, साउन १८ गते । पहिरोको कारण ६ घण्टा अवरुद्ध भएर सञ्चालनमा आएको मुग्लिन-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको छ ।

मुग्लिन नजिकैको पहाडबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनिएर अर्जुन घिमिरेले जानकारी दिनुभयो ।

अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको छ । सोमबार बिहान ७ बजे यस सडक खण्डको तुईन खोला पुल र नाम्सी खोलामा पहिरो गएपछि १ बजेसम्म सडक अवरुद्ध भएको थियो ।

सडक खुलेको केही समयपछि पुन: मुग्लिन नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको हाे । पहिरो पन्छाउने काम भने भइराखेको सडक कार्यालयले जानकारी दिएको छ ।