सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप
कपिलवस्तु, भदौ २५ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले गरेको निर्णय अवैधानिक र निन्दनीय भएको आरोप लगाउनु भएको छ ।
अध्यक्ष यादवले बुधबार आफ्नो फेसबुक वालमा लेख्दै जसपा नेपालको केन्द्रीय निर्देशन विपरीत नेकपा (एमाले) का मुख्यमन्त्रीलाई विश्वासको मत दिने लुम्बिनी प्रदेशका चार सांसदलाई पार्टीले यसअघि नै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिसकेको उल्लेख गर्नुभएको छ ।
केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार साधारण सदस्यको भूमिका समेत नरहेका ती चार सांसदले गरेको निर्णय र सिफारिसका आधारमा जसपा नेपालका सांसदलाई पदमुक्त गर्नु अत्यन्तै निन्दनीय र अवैधानिक कदम भएको उहाँले उल्लेख गर्नुभएको छ ।
“मुख्यमन्त्री पद त एउटा पार्टीगत होला, तर सभामुख भनेको दलीय राजनीति त्यागेर निष्पक्ष निर्णय गर्ने पदीय जिम्मेवारी हो,” अध्यक्ष यादवले फेसबुकमा लेख्नुभएको छ । उहाँले लुम्बिनी प्रदेशका सभामुखले जसपा नेपालविरुद्ध स्वेच्छाचारी ढङ्गले निर्णय गरेको आरोप लगाउनुभएको छ ।
अध्यक्ष यादवले सभामुख घर्तीप्रति लक्षित गर्दै उहाँको निर्णयले निकट भविष्यमा पद र प्रतिष्ठामाथि नै प्रश्न उठाउने दाबीसमेत गर्नुभएको छ । जसपा नेपालका अध्यक्ष यादवले फेसबुकमार्फत सार्वजनिक गरेको उक्त अभिव्यक्ति लुम्बिनी प्रदेशमा सांसद पदमुक्त सम्बन्धी विवादका विषयमा आएको हो ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













