रेसुङ्गा (गुल्मी), भदौ २६ गते । गुल्मीको तम्घासमा भदौ १० गतेको भोटेकोसी सहितका बाढीपहिरो लगायतका बिपत्मा परेर ज्यान गुमाएका दिवङ्गत व्यक्तिको आत्मशान्तिका लागि सामूहिक धार्मिक अनुष्ठान गरिएको छ ।

विश्व हिन्दु महासंघ गुल्मीको नेतृत्वमा तम्घासस्थान मन्दिर व्यावस्थापन समिति, राधा माधव लगायतका संस्थाहरुले सञ्चालन गरेको धार्मिक अनुष्ठानबाट सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा प्रदान गरिएको हो ।

अनुष्ठानबाट उठेको एक लाख २८ हजार ५५० मध्ये ५७ हजार ९० रुपियाँ राहत कोषमा जम्मा गरिएको छ । अनुष्ठानमा ७१ हजार ४६० रुपियाँ खर्च भएको विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो ।

धार्मिक आस्थाका आधारमा आफ्नै बिधिहरु हुने भएकाले देशले लगातार भोगेको प्राकृति विपत्ति र बिपतको कारण ज्यान गुमाएका व्यक्तिहरुको आत्मशान्ति, घाइतेहरुको स्वास्थ्य लाभसहित राष्ट्र कल्याणको लागि श्रीमद् भागवत, वेद, गीता लगायतका पाठपारायण गरिएको पण्डित लक्ष्मण रिजालले बताउनुभयो ।

रेसुङ्गा नगरपालिका –१ को तम्घासस्थान मन्दिरमा आयोजना गरिएको अनुष्ठानमा २७ जना गुरु तथा पण्डितबाट पाठपारापण र पूजा गरिएको थियो । गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार गुल्मीका सातजना व्यक्ति बाढीमा बेपत्ता छन् ।

मालिका गाउँपालिकाका–७ घमिरका दिनेश घिमिरे, रुरुक्षेत्रका–६ रिमुवाका यम बहादुर दर्लामी, वडा नं ५ बम्घाकी अनिता पुरी र वडा नं ३ थानपतिका कपिलदेव ज्ञवाली रसुवा बाढीका कारण सम्पर्कबिहीन हुनुहुन्छ ।

त्यस्तै छत्रकोट गाउँपालिका–४ दिगामका गणेश ज्ञवाली, सत्यवति गाउँपालिका–८ भार्सेका धनबहादुर गलामी र कालिगण्डकी गाउँपालिका–१ हर्मीचौरका शिव न्यौपानेसहित सात जना बाढीपछि सम्पर्कमा नरहेकाले खोजीमा विभिन्न तहमा समन्वय एवंम पहल भइरहेको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो ।