शैक्षिक सामग्री निर्माण तथा बालमैत्री कक्षा व्यवस्थापन तालिम
कपिलवस्तु, भदौ २७ गते । जिल्लाको मायादेवी गाउँपालिकाका २५ वटा विद्यालयका २६ जना बाल विकास सहजकर्ताका लागि सञ्चालित पाँच दिने शैक्षिक सामग्री निर्माण तथा बालमैत्री कक्षा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
युनाइटेड मिसन टु नेपाल (यूएमएन) को सहयोग, मायादेवी गाउँपालिकाको समन्वय तथा दलित सामाजिक विकास केन्द्रको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिममा बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्न कक्षाकोठामा स्थानीय स्रोतसाधनको प्रयोग गरी शैक्षिक सामग्री निर्माण तथा बालमैत्री वातावरण व्यवस्थापन गर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिम समापन कार्यक्रममा मायादेवी गाउँपालिकाका योजना शाखा प्रमुख रामकृष्ण तेलीले शिक्षाको गुणस्तर वृद्धि गर्न तालिमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पाँच दिनमा सिकेका सीपलाई विद्यालयको कक्षाकोठामा व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्नुभयो । तालिमलाई औपचारिकतामा सीमित नराखी बालबालिकाको सिकाइमा प्रत्यक्ष प्रयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
सिवाइ सिसि परियोजनाका परियोजना व्यवस्थापक एवं प्रशिक्षक शान्ति थापाले बालबालिकाको सिकाइ उपलब्धि राम्रो बनाउन शैक्षिक सामग्रीको प्रयोग आवश्यक रहेको बताउनुभयो । तालिममा निर्माण गरिएका चार्टलगायतका सामग्रीबाट सिकेका सीपलाई कक्षाकोठामा प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
सहभागी आमिना खातुनले तालिमबाट आफूहरूले उपयोगी सीप सिकेको बताउँदै सिकाइलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले परियोजना सञ्चालनमा रहँदा मात्र नभई परियोजना समाप्त भएपछि पनि स्थानीय सरकारले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । कपडासम्बन्धी सीप तथा डलकुसन निर्माणजस्ता थप व्यावहारिक तालिमको आवश्यकता रहेको उहाँको भनाइ थियो ।
केन्द्रकी अध्यक्ष सुरजमती पासीले विद्यालयमा बालबालिकालाई सहज रूपमा सिक्न सहयोग पुग्ने सामग्री निर्माण तथा प्रयोगमा तालिमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले संस्थाले स्थानीय तहलाई आवश्यक मार्गदर्शन गर्ने र परियोजना सीमित अवधिका हुने भएकाले यस्ता कार्यक्रमलाई स्थानीय सरकारले अपनत्व लिएर निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
तालिमले बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण, बालमैत्री कक्षा व्यवस्थापन तथा बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउने व्यावहारिक सीप प्रदान गरेको आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन परियोजनाका शिक्षा अधिकृत भोरिक केवटले गर्नु भएको थियो ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













