खुनुवा नाकामा ६ किलो ४७४ ग्राम चाँदीसहित ७२ वर्षीय भारतीय नागरिक पक्राउ
सिद्धार्थनगर, भदौ २८ गते । भारत–नेपाल सीमा क्षेत्रअन्तर्गत खुनुवा नाकामा भारतको सशस्त्र सीमा बल (एसएसबी) ले ६ किलो ४७४ ग्राम चाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको ४३औँ वाहिनी एसएसबीअन्तर्गत खुनुवा सीमा चौकीको चेकपोस्टमा खटिएको टोलीले विशेष सूचनाका आधारमा शनिबार भारतबाट नेपालतर्फ जाँदै गरेका ७२ वर्षीय हरिरामलाई चाँदीका गरगहनासहित पक्राउ गरेको हो ।
एसएसबीका अनुसार खुनुवा चेकपोस्टमा सीमा स्तम्भ नं. ५५६ बाट करिब ५० मिटर भारततर्फ विशेष जाँच भइरहेको समयमा शङ्कास्पद रूपमा नेपालतर्फ जाँदै गरेका एक वृद्धलाई सुरक्षाकर्मीले रोकेर जाँच गर्न खोजेका थिए । जाँचका लागि रोकिएपछि उनी आत्तिएर भारततर्फ भाग्न खोजेका थिए ।
शङ्का लागेपछि एसएसबीको टोलीले उनलाई पछ्याएर नियन्त्रणमा लिएको जनाएको छ । उनको साथमा रहेको गठरी जाँच गर्दा १८६ जोडी पायल र एक हजार ४४८ वटा बिछिया बरामद भएको थियो । बरामद गरिएका चाँदीका गरगहनाको कुल तौल ६ किलो ४७४ ग्राम रहेको एसएसबीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्लाको शोहरतगढ थाना क्षेत्रअन्तर्गत नीबी दोहनी निवासी प्यारेका ७२ वर्षीय छोरा हरिराम रहेको जनाइएको छ ।
एसएसबीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा हरिरामले उक्त चाँदीका सामान शोहरतगढमा एक अपरिचित व्यक्तिबाट लिएर नेपालमा अर्का अपरिचित व्यक्तिलाई बुझाउन लैजाँदै गरेको बताएका छन् ।
बरामद चाँदीका सामानका सम्बन्धमा वैध कागजात प्रस्तुत गर्न नसकेपछि एसएसबीले हरिरामलाई ६ किलो ४७४ ग्राम चाँदीका गरगहनासहित आवश्यक कानुनी कारबाहीका लागि खुनुवा भन्सार कार्यालयको जिम्मा लगाएको जनाएको छ ।
भारत–नेपाल सीमा क्षेत्रमा अवैध तस्करी नियन्त्रणका लागि ४३औँ वाहिनी एसएसबीले निरन्तर निगरानी तथा जाँच अभियान सञ्चालन गर्दै आएको जनाएको छ । एसएसबीले मानव तस्करी, लागुऔषध, अवैध मुद्रा, वन्यजन्तु तथा अन्य प्रतिबन्धित सामानको ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राखेको जनाएको छ ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













