कपिलवस्तु, भदौ २८ गते । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा कपिलवस्तुका मायादेवी र यशोधरा गाउँपालिकामा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी छलफल, अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएका छन् ।
दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल (यूएमएन) को संयुक्त साझेदारीमा सञ्चालित मानसिक स्वास्थ्य परियोजनाको आयोजनामा तथा स्थानीय तहको समन्वयमा कार्यक्रम गरिएको हो ।
मायादेवी गाउँपालिका–३ स्थित फुलिका स्वास्थ्य चौकीमा ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नाराका साथ छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा आत्महत्या रोकथामका उपाय, मानसिक स्वास्थ्यको अवस्था तथा आत्महत्याप्रति समाजमा विद्यमान दृष्टिकोणका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा आमा समूहका सदस्य, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा मनोसामाजिक सहयोग समूहका सदस्यको सहभागिता थियो ।
कार्यक्रमको अध्यक्षता दलित सामाजिक विकास केन्द्रका सहसचिव कुसुम कोरीले गर्नुभएको थियो भने मायादेवी गाउँपालिकाका स्वास्थ्य संयोजक प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
यसैगरी यशोधरा गाउँपालिका–२ गौरीको समन्वयमा वडा कार्यालयको सभाहलमा छलफल, अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।
कार्यक्रममा आत्महत्या रोकथामका उपाय, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा समुदायमा आत्महत्याप्रति सकारात्मक दृष्टिकोण विकास गर्ने विषयमा अन्तरक्रिया गरिएको थियो । हाजिरीजवाफ प्रतियोगिता मार्फत सहभागीको मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको अध्यक्षता दलित सामाजिक विकास केन्द्रका कोषाध्यक्ष निलमकुमारी पासीले गर्नुभएको थियो भने यशोधरा गाउँपालिका–२ गौरीका वडाध्यक्ष प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा आमा समूहका सदस्य, महिला स्वास्थ्य स्वयंसेविका तथा मनोसामाजिक सहयोग समूहका सदस्यको सहभागिता रहेको थियो ।
आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि, समस्या परेका व्यक्तिसँग खुलेर संवाद गर्ने वातावरण निर्माण तथा समुदायस्तरमा सकारात्मक दृष्टिकोण विकास गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।