कपिलवस्तु नगरपालिकाले स्वास्थ्य बीमाको ५० प्रतिशत योगदान व्यहोर्ने
कपिलवस्तु, असोज ८ गते । कपिलवस्तु नगरपालिकाले नगरवासीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन स्वास्थ्य बीमा बोर्ड, जिल्ला सम्पर्क शाखा कार्यालय कपिलवस्तुसँग सम्झौता गरेको छ ।
सम्झौताअनुसार पाँच जनासम्मको परिवारका लागि वार्षिक स्वास्थ्य बीमा योगदान रकम रु. ३ हजार ५ सयमध्ये ५० प्रतिशत अर्थात् रु. १ हजार ७ सय ५० नगरपालिकाले व्यहोर्नेछ । बाँकी ५० प्रतिशत रकम तथा पाँच जनाभन्दा बढी परिवार सदस्य भए थप सदस्यको बीमा शुल्क सम्बन्धित परिवारले व्यहोर्नुपर्नेछ ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले आर्थिक अभावका कारण स्वास्थ्य बीमाबाट वञ्चित नगरवासीलाई कार्यक्रममा जोड्ने उद्देश्यले नगरपालिकाले योगदान व्यहोर्ने व्यवस्था गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य नागरिकको आधारभूत आवश्यकता भएकाले सबै नगरवासीलाई स्वास्थ्य बीमामा जोडेर सहज र सर्वसुलभ स्वास्थ्य सेवामा पहुँच पुर्याउने हाम्रो उद्देश्य हो ।”
स्वास्थ्य बीमा बोर्ड कपिलवस्तुका प्रमुख वशिष्ठ तिवारीले स्थानीय तहले बीमा शुल्कमा योगदान गर्ने व्यवस्था गरेपछि नगरवासीको स्वास्थ्य बीमामा पहुँच र सहभागिता बढ्ने बताउनुभयो । उहाँका अनुसार नगरपालिकासँग भएको सम्झौताले आर्थिक रूपमा कमजोर परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन थप सहज हुने र स्वास्थ्य उपचारमा हुने व्यक्तिगत खर्चको भार घटाउन सहयोग पुग्नेछ ।
नगरपालिकाले यस कार्यक्रममार्फत बढीभन्दा बढी नगरवासीलाई स्वास्थ्य बीमामा आबद्ध हुन आग्रह गरेको छ । जिल्लामा हालसम्म एक लाख ५२ हजार छ सय ३२ जना नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् ।























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













