रुकुम पश्चिम, असोज १२ गते । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ पेदिखेतस्थित ढुङ्गाको ओढारमा लुकाइछिपाइ राखिएका तीन नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी सिम्रुतुबाट प्रहरी नायब निरीक्षक कृष्णबहादुर शाहको नेतृत्वमा खटिएको चार सदस्यीय प्रहरी टोलीले गस्ती गर्ने क्रममा ढुङ्गाको ओढारभित्र लुकाइराखेको अवस्थामा ती बन्दुक फेला पारी बरामद गरेको हो ।

बरामद भएका भरुवा बन्दुक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।

उक्त स्थान प्रहरी चौकी सिम्रुतुदेखि करिब तीन किलोमिटर पश्चिममा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।