भाग्न खोज्दा हवाई फायर, लागूऔषधसहित दुई जना पक्राउ
कपिलवस्तु, कात्तिक १५ गते । कपिलवस्तुको वाणगंगा नगरपालिका–३ राजापानीबाट प्रहरीले २८ ग्राम ८२० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र लागूऔषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले शनिबार दिउँसो राजापानीस्थित राधाकृष्ण नास्ता पसलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउद्दिन मुसलवान र वाणगंगा नगरपालिका–६ का २९ वर्षीय उमेश थारू रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको कमाण्डमा सात जना र लागूऔषध नियन्त्रण ब्युरो भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा खटिएको संयुक्त टोलीले कारबाही गरेको थियो ।
प्रहरी टोलीलाई देखेपछि दुवै जना भाग्न खोज्दा नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो । त्यसपछि उनीहरूको साथबाट प्लास्टिकसहित २४ ग्राम ८१० मिलिग्राम र उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलको सिटमुनि लुकाइराखेको पाँच ग्राम ८४० मिलिग्राम खैरो रङको गिलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद पदार्थको प्लास्टिक हटाएर तौल गर्दा शुद्ध २८ ग्राम ८२० मिलिग्राम रहेको प्रहरी उपरीक्षक भट्टले जानकारी दिनुभयो ।
प्रहरीले लागूऔषधजस्तो देखिने पदार्थ र मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पिपरामा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













