कपिलवस्तु । नेपाली कांग्रेसको देउवा पक्षअन्तर्गत कपिलवस्तुमा सम्पन्न १५औँ नियमित जिल्ला अधिवेशनबाट राजेशबहादुर सिंह जिल्ला सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

तौलिहवास्थित होटल शंकरमा आयोजित अधिवेशनको लुम्बिनी प्रदेश सभापति तथा केन्द्रीय सदस्य गहेन्द्र गिरीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । अधिवेशनमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

निर्वाचन समितिका संयोजक ऐश्वर्यनारायण शुक्लाका अनुसार जिल्ला उपसभापतिमा खुर्सेद अहमद खाँ र दुर्गा केसी निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा मनोज पौडेल र मनोज कनौडिया तथा सहसचिवमा विजय खनाल र जमिल अहमद खाँ निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनबाट खुलातर्फ १७ जना जिल्ला कार्यसमिति सदस्य तथा जिल्लाका छ नगरपालिका र चार गाउँपालिकाबाट तोकिएको प्रतिनिधित्वका आधारमा सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्ष भने नवनिर्वाचित कार्यसमितिको बैठकबाट चयन गरिने सभापति सिंहले बताउनुभयो ।

अधिवेशनलाई सम्बोधन गर्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस लोकतन्त्र र प्रजातन्त्रको संरक्षण गर्ने ऐतिहासिक शक्ति भएको बताउनुभयो । उहाँले बीपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवादको विचार र आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्कीले मुलुकमा महँगी, मलको अभाव, सडक तथा यातायातको समस्या र संविधान कार्यान्वयनजस्ता महत्वपूर्ण विषय रहे पनि राजनीतिक नेतृत्व जनताका समस्याभन्दा अन्य गतिविधिमा अल्झिएको टिप्पणी गर्नुभयो । जनताको करबाट प्राप्त स्रोतसाधन जनताकै हितमा प्रयोग हुनुपर्ने उल्लेख गर्दै उहाँले जनताको अधिकार र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि कांग्रेस जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टीको क्रियाशील सदस्यता र संगठनात्मक जिम्मेवारीलाई औपचारिकतामा सीमित नगरी विचार, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धतासँग जोड्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रदेश सभापति तथा केन्द्रीय सदस्य गहेन्द्र गिरीले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन नियमित महाधिवेशन महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पार्टीभित्र एकता, सहमति र सहकार्यको वातावरण निर्माण गर्दै कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

अधिवेशनमा क्षेत्रीय सभापति गोपीकृष्ण शर्मा, अब्दुल मन्नन खाँलगायतले पनि आफ्नो धारणा राख्नुभएको थियो । नवनिर्वाचित सभापति सिंहले पार्टीलाई एकताबद्ध बनाउँदै संगठन विस्तार र सुदृढीकरणमा जोड दिने बताउनुभएको छ ।