आफ्नै घरमा लुकिछिपी बसेका फरार कैदी पक्रा
कपिलवस्तु, कात्तिक २१ गते । कपिलवस्तु कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–७ कनकटवाका ३१ वर्षीय शत्रुहन धोबी रहेका छन् । उनी २०८२ भदौ २५ गते कारागार कार्यालय तौलिहवाबाट भागी फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार गोप्य सूचनाका आधारमा निरन्तर खोजतलास गर्ने क्रममा धोबीलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीले उनलाई नियन्त्रणमा लिई कात्तिक २१ गते पुनः कारागार कार्यालय तौलिहवामा बुझाएको जनाएको छ ।
धोबीलाई जबरजस्ती करणीसम्बन्धी कसुरमा कपिलवस्तु जिल्ला अदालतले २०८० पुस २० गते १२ वर्ष ६ महिना कैद र पाँच लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
उनले हालसम्म तीन वर्ष २५ दिन कैद भुक्तान गरिसकेका छन् भने नौ वर्ष पाँच महिना छ दिन कैद भुक्तान गर्न बाँकी रहेको छ । पाँच लाख रुपैयाँ जरिवानासमेत तिर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिनुभयो ।