कपिलवस्तु । नेकपा (एमाले) का जिल्ला सचिवालय सदस्य एवं मुस्लिम इत्तेहाद संघका केन्द्रीय सदस्य अब्दुल मोजी खानसहित एक सयभन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
पूर्व गाविस अध्यक्षसमेत रहेका खानको नेतृत्वमा विभिन्न पार्टीमा आबद्ध नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्।
नेपाली कांग्रेस शुद्धोधन गाउँपालिका–१ वडा समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन्। कार्यक्रममा संविधानसभा सदस्य अतहर कमाल, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति राजेश आचार्य, पूर्वमन्त्री सहसराम यादव तथा कांग्रेसका पूर्व जिल्ला सचिव शर्मालगायतले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए।
शुद्धोधन गाउँपालिका–१ स्थित सामुदायिक सिकाइ केन्द्र अनराठमा आयोजित कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्ताले नेपाली कांग्रेसको नीति, सिद्धान्त र विचारप्रति प्रतिबद्ध रहँदै संगठनलाई थप मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्।