कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा १० हजार बढीले गरे स्नान
कपिलवस्तु, ८ मङ्सिर । कार्तिक शुक्ल पूर्णिमा (नहान) का अवसरमा मंगलबार कपिलवस्तुका विभिन्न १९ स्थानमा परम्परागत मेला लागेको छ। जिल्लाको बाणगङ्गा नदीका विभिन्न घाटसहित अन्य धार्मिकस्थलमा लागेको मेलामा ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहेको छ।
बाणगङ्गा नदीस्थित रामघाट, लक्ष्मणघाट, मनोहरापुर, बर्गदीघाट, कजरहवा, बेलसपुर, पसोहिया पुल, ककरहवा घाट, समेरीघाट, सुरही खोला, शङ्करपुर नहर, महादेवाघाट, चौरगहवा, तिर्खिखीलगायत १९ स्थानमा मेला लागेको हो।
जिल्लाकै पुरानो र ऐतिहासिक मेलाका रूपमा परिचित कपिलवस्तु नगरपालिका–३ स्थित रामघाटमा सबैभन्दा बढी श्रद्धालु भक्तजनको घुइँचो लागेको थियो। रामघाट मेला व्यवस्थापन समितिका अनुसार यस वर्ष १० हजारभन्दा बढी भक्तजनले बाणगङ्गा नदीमा स्नान गरेका छन्। गत वर्षको तुलनामा यस वर्ष मेलामा आउने श्रद्धालुको सङ्ख्यासमेत बढेको समितिले जनाएको छ।
मेलामा कपिलवस्तुसहित छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाँची तथा भारतको शोहरतगढ, तुलसीपुर, अलीगढवा लगायतका स्थानबाट भक्तजन आएका थिए। मेलाका लागि सोमबार रातिदेखि नै रामघाटमा श्रद्धालु जम्मा भएका थिए। उनीहरूले रातभर जाग्राम बसी भजनकीर्तन, पूजापाठ, प्रवचन तथा भागवत पाठ गरेका थिए। बिहान सबेरै नदीमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गरेका थिए।
कार्तिक शुक्ल पूर्णिमाका दिन नदीमा स्नान तथा पूजाआजा गर्दा पाप नाश भई पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। यस अवसरमा सयौँ भक्तजनले गौपूजा गर्नुका साथै गाई, अन्नपात र नगद दान गरेका थिए।
धार्मिक किंवदन्तीअनुसार त्रेतायुगमा भगवान् राम वनवास जाने क्रममा प्यास लागेपछि बाण प्रहार गरी पानी उत्पत्ति गराउनुभएको थियो। सोही पानीमा स्नान तथा जलपान गरेपछि यस स्थानको नाम रामघाट रहन गएको जनविश्वास छ। प्राचीन भागीरथीका रूपमा समेत परिचित बाणगङ्गा नदीको धार्मिक तथा ऐतिहासिक महत्त्व रहेको श्रद्धालु बताउँछन्।
गौदानका लागि यशोधरा गाउँपालिका–स्थित भडेहरबाट आउनुभएका वृद्ध पुजारी राम गिरीले भगवान् रामको बाणबाट उत्पत्ति भएको विश्वास गरिने बाणगङ्गा नदीमा स्नान गरी गौदान गर्दा पुण्य प्राप्त हुने बताउनुभयो। “भगवान् राम, सीता र लक्ष्मणले स्नान गरेको नदीमा स्नान गरी गाई तथा अन्नपात दान गर्नाले वैतरणी पार हुने धार्मिक विश्वास छ”, उहाँले भन्नुभयो।
उहाँले बाबुबाजेको पालादेखि नै रामघाटमा मेला लाग्दै आएको बताउँदै यसलाई जिल्लाकै पुरानो मेलाका रूपमा रहेको दाबी गर्नुभयो।
कपिलवस्तु नगरपालिका–३ सडवाका मोहन शुक्लाले पनि पुर्खादेखि चल्दै आएको परम्परालाई निरन्तरता दिँदै प्रत्येक वर्ष कार्तिक पूर्णिमामा रामघाटमा दान गर्दै आएको बताउनुभयो। “बाजेबज्यैको पालादेखि नै हामीले यहाँ दान गर्दै आएका छौँ, यसले पारिवारिक शान्ति र सुख मिल्ने विश्वास छ”, उहाँले भन्नुभयो।
मेलामा जिल्लासहित भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा सन्त, महन्त तथा साधुसन्तको सहभागिता रहेको कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष प्रकाश गैरेले बताउनुभयो। उहाँका अनुसार मेलालाई व्यवस्थित र आकर्षक बनाउन स्थानीयस्तरबाट आवश्यक व्यवस्थापन गरिएको छ।
कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले रामघाट मेलालाई थप व्यवस्थित र रमणीय बनाउन नगरपालिका प्रयासरत रहेको बताउनुभयो। कार्तिक पूर्णिमाको अवसरमा जिल्लाका १० स्थानीय तहमध्ये सातवटाले स्थानीय बिदासमेत दिएका थिए।
मेलामा हुन सक्ने सम्भावित दुर्घटना तथा अप्रिय घटना रोक्न ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।


























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













